Logo

अर्थ

पोखरामा ओमोडा एण्ड जेकुको नयाँ शोरूम, जेकु जे-५ सार्वजनिक



काठमाडौं । पोखरामा ओमोडा एण्ड जेकुको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ । उक्त अवसरमा गण्डकी प्रदेशमा नयाँ जेकु जे-५ गाडी पनि सार्वजनिक गरिएको छ ।

पोखराको शिवचोक–१० मा सञ्चालनमा ल्याइएको नयाँ शोरूम थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ । झण्डै २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको शोरूमले ग्राहकलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउने जनाइएको छ । सर्भिस सेन्टरमा काम गर्ने प्राविधिकहरुलाई अनुभवी प्राविधिक र प्रतिनिधिहरूद्वारा प्रशिक्षण दिइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शोरूम उद्घाटनसँगै नयाँ जेकु जे-५ पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नाइमा एक्स्पोमा पहिलोपटक प्रदर्शित यो गाडी लक्जरी एसयुभी वर्गमा शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण छुट्टै पहिचान बनाउने लक्ष्य राख्दछ । जेको जे५ का प्रमुख सुविधाहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्वीलसहितको स्पेयर टायर, ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, र ४८० लिटर बुट स्पेस रहेका छन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र प्रदेश सभा सदस्य प्रकाश बरालको उपस्थिति थियो । विशेष अतिथिका रूपमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा सहभागी थिए ।

‘पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेकु जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो,’ ईलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले भने।

 

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १२:५५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।