काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ वालेटका रूपमा औपचारिक रूपमा स्वागत गरेको छ ।
यस महत्वपूर्ण साझेदारीले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल कारोबार प्रणाली निर्माण गर्ने फोनेपेको अभियानमा नयाँ उचाइ थपेको छ ।
यस साझेदारीपछि सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर नेटवर्कमा जोडिने भएका छन् । अब सिटी पेका ग्राहकहरूले देशभर १७ लाखभन्दा बढी व्यापारीक केन्द्रहरूमा भुक्तानी गर्न सक्नेछन् ।
फोनेपेले हाल ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था जोडेको छ र क्रमशः डिजिटल वालेट पार्टनरहरू पनि थपिरहेको छ ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले का सिटीपे एकीकरणले यो नेटवर्कलाई अझ समावेशी र प्रयोगकर्तामैत्री बनाउन मद्दत गर्ने बताए ।
सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले यो साझेदारीले विशेषगरी रेमिट्यान्स प्राप्त गर्नेहरूलाई सहज र सुरक्षित कारोबार गर्न सहज बनाउने बताएका छन् ।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन सिटीपेले फोनेपे नेटवर्कमार्फत आफ्ना ग्राहकहरूले गर्ने क्युआर कारोबारमा विशेष पर्व–अभियान घोषणा गरेको छ । २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेट प्रयोगकर्ताले यो प्लेटफर्ममार्फत कारोबार गर्दा चिट्ठा प्रक्रियामा सहभागी हुन पाउने छन् ।
अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसुङ ब्रान्डको टेलिभिजन प्राप्त गर्नेछन् । विजेताहरू मासिक रूपमा घोषणा गरिनेछन् ।
यससँगै, सिटीपेले पाँच सय रूपैयाँ भन्दा माथिको प्रत्येक क्युआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्ने भएको छ । कम्पनीको नीतिअनुसार ग्राहकले यसलाई नगद वा तोकिएको सेवा लिन प्रयोग गर्न सक्नेछन् ।




















प्रतिक्रिया