Logo

अर्थ

दशैंलाई अझै खुलेन अग्रिम टिकट बुकिङ



काठमाडौं । दशैंका लागि अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन । दशैं आउन १५ दिन बाँकी रहँदा पनि टिकट बुकिङको विषयमा अन्योल कायमै छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारबाट औपचारिक गृहकार्य नहुँदा यात्रु सुरक्षामा गम्भीर प्रश्न खडा भएको बताएका छन् । उनका अनुसार देशभरका प्रमुख सडक र पुलहरू वर्षाको कारण क्षतिग्रस्त छन्, जसले यात्रुलाई गन्तव्यसम्म सुरक्षित रूपमा पुर्‍याउने चुनौती थपिएको छ ।

सिटौलाले भने, ‘दैनिक रूपमा ५ देखि ३० सडक खण्ड पहिरो वा भाँसिने कारणले अवरुद्ध भइरहेका छन् । यस्तो अवस्थामा अग्रिम टिकट बुकिङ खोल्दा यात्रु सुरक्षाको जिम्मेवारी कसले लिने भन्नेबारे सरकारले कुनै स्पष्टता दिएको छैन ।’ उनले राज्यलाई जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आरोप लगाउँदै भने, ‘सरकार जोखिम व्यवस्थापनबिना अग्रिम बुकिङ खोल्ने तयारीमा देखिन्छ, जुन गम्भीर लापरबाही हो ।’

काठमाडौंबाट बाहिरिने नागढुंगा–नारायणघाट, विपी राजमार्ग, काठमाडौं–कोदारी मार्ग तथा अन्य प्रमुख मार्गहरू सामान्य वर्षामै अवरुद्ध भइरहेका छन् । सिटौलाका अनुसार यस्तो अवस्थाबाट न यात्रु सुरक्षित छन्, न व्यवसायी ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले भने अहिलेसम्म औपचारिक छलफल नभएको स्वीकार गरेका छन् । ‘यो साता व्यवसायीहरूसँग बैठक बसेर अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गरिनेछ,’ उनले भने ।

सिटौलाकाअनुसार वर्षातमा बस सञ्चालन गर्दा पार्टपुर्जा बिग्रने, सवारी दुर्घटना, गन्तव्यमा नपुग्ने जस्ता समस्याले व्यवसायीको खर्च अत्यधिक बढेको छ । यस्तो अवस्थामा सरकारले सुरक्षा पूर्वाधार तयार नगरी बुकिङ खुलाउन दबाब दिएको भन्दै उनले आपत्ति जनाए ।

सडक विभागका उपनिर्देशक प्रभात झाले जोखिमयुक्त सडक खण्डमा सानोदेखि ठूला उपकरणहरू तैनाथ गरिएको र खाल्डाखुल्डी मर्मत तथा पुलपुलेसाको सरसफाइ भइरहेकाले यातायात सञ्चालन सहज बनाउने योजना बनाइएको बताए ।

यातायात विभागका अनुसार हरेक वर्ष दशैंको घटस्थापनादेखि अष्टमीसम्म २०–२२ लाख यात्रु उपत्यकाबाट बाहिरिन्छन्, र ५,५०० भन्दा बढी सवारी साधन दैनिक रूपमा चल्ने गर्छन् । चाडपर्व लक्षित गर्दै देशभरका यातायात व्यवसायीहरूले २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानीमा २५० वटा नयाँ ठूला लक्जरी बसहरू निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ११:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।