काठमाडौं । तीन दिनयता जारी जेनजी प्रदर्शनले उग्ररूप लिँदा कम्तीमा ३० जानको ज्यान गइसकेको छ भने दर्जनौं सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ ।
जेनजी प्रदर्शनको पहिलो दिनबाटै सरकारले काठमाडौं उपत्यका लगायत प्रमुख सहरमा कर्फ्यु आदेश जारी गरेपछि स्थिति थप तनावग्रस्त हुन पुग्यो । दोस्रो दिन मंगलबार सरकारी र निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनी हुन थालेपछि सोही रातिदेखि सुरक्षा जिम्मेवारी लिँदै नेपाली सेना सडकमा आएको छ ।
सेनाले निषेधाज्ञा र कर्फ्यु अवधि बढाएर २७ भदौसम्म पुर्याएको छ । निषेधाज्ञा र कर्फ्युका कारण सबै पेसा व्यवसाय ठप्प छ । यस्तो बेला बजार पनि बन्द हुँदा दैनिक उपभोग्य सामान खरिद गर्न समस्या हुनेमात्र नभई अभाव पनि हुने र महँगी बढ्ने सम्भावना उच्च हुन्छ ।
सरकारविहीनताको अवस्थामा कालोबजारी हुने र उपभोक्ता ठगिने सम्भावना थप प्रबल छ । सर्वसाधारण उपभोक्तालाई कसरी सहज र सरल तरिकाले खाद्यान्न आपूर्ति होला ? यस खालको विषम परिस्थितिमा दैनिक उपभोग्य सामग्री र खाद्यान्न अभाव होला ?
‘बजारमा खाद्यान्न अभाव त हुँदैन होला, तर यातायात तथा ठूला व्यापारीका गतिविधिले समस्या निम्तिन सक्ने सम्भावना भने छ,’ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले अनलाइनखबरसँग भने ।
महासचिव तुलाधरका अनुसार यदि बजार खुला रहे अहिले भएका सामान बिक्री भइहाल्छन् । तर, यातायात व्यवसायीले सेवा बन्द गरे भने सामान आपूर्तिमा कमी आउने र यसले केही कठिनाइ सिर्जना गर्न सक्छ ।
अहिलेसम्म खाद्यान्न लुटपाट भएको भने नदेखिएको उनले बताए । सरकारले ५–६ महिनाका लागि खाद्यान्न मौज्दात रहेको बताइरहेकाले तत्कालै ठूलो अभाव नहुने उनको विश्वास छ ।
यद्यपि, केही ठूला व्यापारीले यातायातमा समस्या आएको बहाना बनाएर कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्न सक्ने सम्भावनालाई भने उनी नकार्दैनन् ।
‘ठूला व्यापारीहरूको मौका छोप्ने एउटा प्रवृत्ति नै छ,’ उनले भने, ‘सबै व्यापार ठूला व्यापारीहरूकै हातमा रहेको र सामान ल्याउने पनि उनीहरू नै भएकाले उनीहरूले यस्तो अवस्थाको फाइदा उठाउन सक्ने सम्भावना रहन्छ ।’




















प्रतिक्रिया