Logo

अर्थ

एक महिनामै करिब ४ अर्बले बढ्यो सेयर धितो कर्जा, १ खर्ब ४४ अर्ब नाघ्यो कुल कर्जा



काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जा बढेको छ । एकै महिना करिब ४ अर्ब हाराहारीमा यस्तो कर्जा प्रवाह भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको नयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म भने यस्तो कर्जा १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ थियो ।

तथ्यांकअनुसार साउन सम्ममा एक करोड रुपैयाँ भन्दा बढीको सेयर धितो कर्जा प्रवाह १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । साउन महिनामा मात्रै २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बराबरको एक करोड माथिको सेयर धितो कर्जा प्रवाह भएको छ ।

यस्तै, असारसम्मको तुलनामा साउन महिनामा ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जा २.७ प्रतिशतले घटेर १७ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

२५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा भने ६.७ प्रतिशतले बढेर ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १७:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।