काठमाडौं । २३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी)लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ ।
सीजीले शनिबार अर्थमन्त्री रामेश्वर खनालको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षणका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट भएको क्षति विवरण प्रस्तुत गर्दै विशेष राहत र सहुलियतको माग गरेको हो ।
सतुङ्गलको कारखाना, सर्भर र डाटा सेन्टरदेखि थापाथली, हरिसिद्धि, विशालनगर, भरतपुर र जोरपाटीसम्मका शोरुम, सर्भिस सेन्टर, शैक्षिक संस्था, गाडी र निजी निवासहरूमा समेत क्षति पुगेको समूहले जनाएको छ । चाँदबाग स्कुलका ६ वटा गाडीमा आगजनी भएको छ ।
सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।
क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि सीजीले सरकार समक्ष विभिन्न सुझाव राखेको छ । जसमा व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, क्षतिग्रस्त व्यवसायका लागि ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज (विशेष आर्थिक क्षेत्र) बाहिरका उद्योगलाई समेत सेजसरह सुविधा प्रदान गर्नुपर्ने लगायत सुझाव समावेश छन् ।
सीजीले यो घटनाले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै सरकारलाई तत्काल पहल गर्न आग्रह गरेको छ ।






















प्रतिक्रिया