काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिसन प्रमुख जहान सरवतबीच भर्चुअल बैठक सम्पन्न भएको छ । सोमबार (असोज ६) मन्त्री खनाल र मिसन प्रमुख सरवतबीच भर्चुअल बैठक भएको हो ।
सरवतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको बताए । उनले हालै ‘जेनजी’को नेतृत्वमा भएको प्रदर्शनका क्रममा व्यक्त सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।
मन्त्री खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने बताए ।
त्यसक्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा कार्यान्वयन भइरहेको विस्तारित क्रेडिट सुविधा (ईसीएफ)को कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौँ समीक्षा प्रतिवेदन छिट्टै अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्ड बैठकमा पेस गर्ने विषयमा छलफल भएको जनाइएको छ ।




















प्रतिक्रिया