Logo

अर्थ

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई महासंघमा स्वागत गर्दै उनले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड रहेको उल्लेख गरे।

अध्यक्ष ढकालका अनुसार, निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गर्छ। यति ठूलो योगदान हुँदाहुँदै पनि हरेक आन्दोलनमा निजी क्षेत्रलाई निशाना बनाइनु चिन्ताको विषय हो।

पछिल्लो समय जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। ढकालले भने, “हामी विभिन्न राजनीतिक र प्राकृतिक विपत्तिबाट गुज्रँदै आएका छौँ। भदौ २३ र २४ गतेपछिको जेनजी आन्दोलनले सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको छ। यो अवस्थाबाट माथि उठ्नुपर्ने चुनौती छ।”

उनले वर्तमान सरकारले छोटो समयमै निजी क्षेत्रको भावना अनुसार राहतका प्याकेज घोषणा गरेकाले महासंघले यसलाई सकारात्मक रूपमा लिएको बताए। ढकालले तथ्यमा आधारित, खोजमूलक र जिम्मेवार पत्रकारिताले निजी क्षेत्रको विश्वसनीयता बढाउनुका साथै नीतिगत सुधारका लागि दबाब सिर्जना गर्ने बताए।

महासंघका अन्य पदाधिकारीले पनि निजी क्षेत्रको सुरक्षा र विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हालका घटनाले व्यवसायीमा असुरक्षाको भावना पैदा भएको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश प्रवाह भएको बताए। उनले यसले रोजगारीमा समेत असर पार्ने चिन्ता व्यक्त गरे।

उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासनका लागि निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद आवश्यक भएको बताए। कोषाध्यक्ष भरतराज आचार्यले अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

सेजनका अध्यक्ष भागवत भट्टराईले आफ्नो संस्थाले सधैँ खुला अर्थतन्त्र, उद्यमशीलता र रोजगारीको पक्षमा वकालत गर्दै आएको र महासंघसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए।

महासंघले पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै आर्थिक विकास, रोजगारी सिर्जना र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ। उनीहरूले महासंघले उठाएका यी विषय देशको समग्र आर्थिक विकास र समृद्धिका लागि हो भन्ने बुझिदिन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १९:५०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।