काठमाडौं । २०८२ भदौ २३-२४ गते भएको जेन-जी आन्दोलनले सत्ता पलट सँगसँगै नेतृत्वको दम्भ र पापको घैटो विस्फोट भएको छ ।
आन्दोलनको यो रूप ठीक थियो वा थिएन भोलिका दिनमा पक्कै नै अनुसन्धान र विश्लेषण त हुन्छ नै । नेतृत्वबाट आफूमात्रै होइन, सात पुस्तेलाई पुग्ने गरी अकुत सम्पत्ति कमाउनेतर्फ ध्यान गयो ।
संस्थागत र व्यक्तिगत स्वार्थमा राज्यकोषको दुरुपयोग गरियो। सबै नेतृत्व दोषी पनि छैनन् । भ्रष्ट करारनामा पनि गर्न मिल्दैन । सीमित भ्रष्ट र अपारदर्शी नेतृत्वको कारण यो अपजशको भारी बोक्नु पर्यो सबै राजनीतिक तथा प्रशासनिक व्यक्तिले । त्यसको जवाफदेहिता तहगत नेतृत्वले लिनुपर्छ तलैसम्म ।
तर, यो स्वीकार्ने कि नस्वीकार्ने र मात्रात्मक भागिदारी कति हो ? भन्ने चाहिँ छुट्याउन र खुट्याउन जरुरी छ । यो तथ्य सबै नागरिकले थाहा पाउने गरी बाहिर आउन सकेन भने निर्दोष मानिसले कलंकको भारी बोकिरहनु पर्छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाका बालेन्द्र (बालेन) शाह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच सामाजिक सञ्जालको जुहारी लज्जाबोध र घृणित छ ।
सत्ता कायापलट भएको एक हप्ता बितिसक्दा पनि आन्दोलनमा मृत्युवरण गर्ने सबै आन्दोलनकारीको दाहसंस्कार भएको छैन ।
गोली लागेर घाइते अस्पतालमा छट्पटाइरहेकै छन् । घाइतेका आमा बुवा एवं आफन्तजन बेहोसी अवस्थाबाट भर्खरै बौरिन खोजिरहेका छन् । सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ तर मन्त्रिपरिषद्ले भने पूर्णता पाएको छैन ।
आन्दोलनका क्रममा आगजनी भई नष्ट भएका ऐतिहासिक सार्वजनिक स्मारकहरू सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी अड्डा, विभिन्न दलका पार्टी कार्यालय, घर तथा निजी सम्पत्ति लगायतको वस्तुगत क्षतिको मूल्यांकन र लेखाजोखा हुन सकेको छैन । यो विषम परिस्थितिमा बालेन र हर्कले सामाजिक सञ्जालमा देखाएको रोइलो खेदजनक मात्र होइन, अति निन्दनीय पनि छ । दुवैमा मानवीय संवेदनाभन्दा पनि आत्माकेन्द्रित महत्त्वाकांक्षा देखिन्छ ।
बालेन र हर्कको रोइलो देश रोइरहेको छ । कतै विदेशी शक्तिले हाम्रो देशको अस्तित्व नै समाप्त गर्ने षड्यन्त्र गरिरहेका त छैनन् ? अहिलेको जटिल समस्यालाई कसरी समाधान गर्ने ? २०८२ फागुन २१ गते हुने निर्वाचनलाई सुनिश्चित बनाउँदै नष्ट भएका संरचनालाई कसरी पुनर्निर्माण गर्दै नागरिकलाई कसरी सहज ढंगले सेवा प्रवाह गर्ने भन्ने चिन्ता होला सरकार र प्रशासकलाई । तर, बालेन र हर्क भने सामाजिक सञ्जालबाट उत्ताउलो ढंगले गालीगलौज गरेर समाजलाई दूषित बनाइरहेका छन् ।
नगर समय-सन्दर्भ प्रमुखको हैसियतले कति बोल्ने र कति मर्यादा राख्ने ख्याल गरिरहेका छैनन् । यो विषम परिस्थितिमा हातेमालो गरेर अघि बढ्नुको सट्टा केको भाले जुधाई हो बालेन र हर्कको ? कोही बन्द कोठाबाट सरकार ढाल्ने र बनाउने त कोही वर्तमान भूमिका पूरा नहुँदै नयाँ भूमिकाको खोजी गर्न दौरा- सुरुवाल बोकेर सिंहदरबार छिर्ने ! कठैबरा दुवैले किन नबुझेका होलान्, आफ्नो जिम्मेवारी र कर्तव्य ।
बालहठबाट कहाँ चल्छ र देश ? संस्था केन्द्रित नभई व्यक्ति केन्द्रित सोच नै राणाकालीन चिन्तन हो भन्ने बुझ्नुपर्छ बालेन र हर्कले ।
अनुरोध छ- आफ्नो पनि मर्यादा राख्नुहोस् र अन्य जनप्रतिनिधिको पनि मर्यादा जोगाइदिनुस् । पदीय मर्यादा जोगाऔं : हामी बाँकी ७ सय ५१ पालिकाका जनप्रतिनिधिले पनि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म के, कसरी समृद्ध र नमुना पालिका बनाउन सकिन्छ भनेर निरन्तर काम गरिरहेका छौं। यहाँ बालेन र हर्कलाई भ्रम छ कि मभन्दा राम्रो र ठुलो कोही छैन। ‘मैले जे बोलें, त्यही कानुन हो’ भन्ने घमण्ड दुई मेयरका सार्वजनिक अभिव्यक्तिबाट स्पष्ट झल्किरहेको छ ।
सबै तहको नेतृत्वले बुझ्दा हुन्छ कि घमण्डले ठूलठूला शासकहरू देश विदेशमा ढलेको इतिहास हाम्रो सामु छलंगै छ । न लुकाउन सकिन्छ न बंग्याउन नै। राणा, राजा र ओली पनि घमण्डले नै सकिएका हुन् । हेक्का रहोस्, बालेन र हर्कजी कतिपय पालिकामा महत्वपूर्ण र ऐतिहासिक काम भएका छन् । ती तपाईंहरू जस्तो मिडियाबाजी गर्न रुचाउँदैनन् । केवल काममा विश्वास गर्छन् । त्यसैले केही नभएको होइन, जति हुनुपर्ने त्यति हुन नसकेको हो ।
कतिपय पालिकाका प्रमुख भ्रष्टाचारको दलदलमा फसेर जेल चलान भएको विषय सञ्चारमाध्यमबाट आइरहेका छन् राष्ट्रवाणी साप्ताहिकमा उल्लेख छ ।
अकुत सम्पत्ति कमाएर पदीय मर्यादाको दुरुपयोग नगरौं । हाम्रो भ्रष्ट मनोविज्ञान र गतिविधिले जेन-जी आन्दोलनको स्वरूप निर्माण गर्यो । त्यसैले मर्यादा जोगाऔं, कर्तव्य पूरा गरौ। नागरिकको अमूल्य मत पाएर हामी निर्वाचित भएका हौं ।
नागरिकले प्रत्यक्ष भेट्ने र तत्काल सेवा लिने सरकार भनेको नै स्थानीय सरकार हो । सेवाका सीमा र क्षेत्र असीमित रहेता पनि नागरिकका अपेक्षा र आकांक्षा स्थानीय सरकारको हैसियतभन्दा बढी छन् ।



















प्रतिक्रिया