Logo

अर्थ

भिजिट भिसामार्फत यूएई जानका लागि नयाँ नियम, ४ देखि १५ हजार दिरामसम्म तलब भएकाले मात्र स्पाेन्सर गर्न पाउने



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् ।

पहिलो तहमा बुबा, आमा, श्रीमान/श्रीमती र छोराछोरीलाई स्पोन्सर गर्न मासिक न्यूनतम ४ हजार यूएई दिराम तलब आवश्यक पर्नेछ।

दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबुबा, हजुरआमा र नातिनातिनालाई भिजिट भिसामा ल्याउन मासिक ८ हजार दिराम तलब चाहिन्छ। त्यस्तै तेस्रो तहमा काका, काकी, मामा, फुपू र कजिनलाई स्पोन्सर गर्न पनि मासिक ८ हजार दिराम न्यूनतम तलब अनिवार्य छ ।

साथीभाइ (गैर-नातेदार) साथीहरूलाई स्पोन्सर गर्न मासिक १५ हजार दिराम तलब हुनुपर्ने व्यवस्था छ ।

भिजिट भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण पेश गर्नुपर्नेछ । साथै, आवेदकसँग कम्तीमा ६ महिना म्याद बाँकी रहेको राहदानी र फिर्ता यात्राको टिकट अनिवार्य छ । यूएईको पहिचान तथा नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा संघीय प्राधिकरण (आईसीपी)ले यो नियम लागू गरेको हो । यसको उद्देश्य पारदर्शिता बढाउने, आर्थिक विविधीकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिहरूलाई यूएईमा आकर्षित गर्ने रहेको आईसीपीले जनाएको छ ।

यूएईले चार नयाँ विशेष भिजिट भिसाको वर्ग पनि तोकेको छ । जसमा कृत्रिम बुद्धिमत्ता (एआई), मनोरञ्जन, विशेष कार्यक्रम र क्रुज जहाजसम्बन्धी भिसा समावेश छन् । मानवीय आधारमा जारी गरिने बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि दिइनेछ । विशेष परिस्थितिमा प्राधिकरणको निर्णयद्वारा यसलाई विस्तार गर्न सकिने व्यवस्था छ ।

यस निर्णयले विदेशी विधवा वा सम्बन्धविच्छेद भएका एकल महिलाहरूलाई पनि प्रायोजकविना यूएईमा बसोबास गर्ने अनुमति प्रदान गर्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १५:२३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।