काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल गएर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दिएका छन् ।
छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुगेका थिए। राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी-गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ ।
आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका वर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।




















प्रतिक्रिया