नेपालमा फिनटेक उद्योगको सुदृढीकरण र एकीकरणका लागि क्रियाशील गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपाल (FAN) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वको घोषणा ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभामा गरिएको हो।
साधारण सभाबाट चयन गरिएको सात सदस्यीय कार्यसमितिको अध्यक्षमा आईएमई खल्ती लिमिटेडका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल निर्वाचित भएका छन्। समितिमा फिनटेक, बैंकिङ र प्रविधि क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।
नयाँ कार्यसमिति यस प्रकार रहेको छः
१. अमित अग्रवाल – सह–संस्थापक तथा निर्देशक, आईएमई खल्ती लिमिटेड (अध्यक्ष)
२. देवेन्द्र खड्का – प्रमुख कार्यकारी अधिकृत, सीनर्जी टेक सफ्टवेयर प्रा. लि.
३. बिनोद पोखरेल – सह–संस्थापक, प्लान बी सलुसंस प्रा. लि.
४. विकाश श्रेष्ठ – वरिष्ठ सम्बन्ध व्यवस्थापक, माछापुच्छ्रे बैंक लि.
५. अशिष शर्मा – सञ्चालक, आइमार्क प्रा. लि.
६. मुन्नी राजभण्डारी – प्रमुख सञ्चालन अधिकृत, एनसीएचएल लि.
७. सन्तोष ताम्राकार – प्रबन्ध निर्देशक, आइएमएस सफ्टवेयर प्रा. लि.
नव–निर्वाचित अध्यक्ष अग्रवालले पदभार ग्रहणपछि फिनटेक क्षेत्रमा सहकार्य, नवप्रवर्तन र दिगो विकासलाई सुदृढ बनाउने प्रतिबद्धता जनाए। उनका अनुसार, फिनटेक अलायन्स नेपालले आगामी दिनमा देशको डिजिटल अर्थतन्त्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन कार्ययोजना अघि बढाउनेछ।
तीन वर्षअघि स्थापना भएको फिनटेक अलायन्स नेपाल हाल देशकै प्रमुख फिनटेक संस्था मध्ये एकका रूपमा विकसित भइसकेको छ। संस्थामा हाल ३० भन्दा बढी सदस्य संस्था आबद्ध छन् र सदस्यता विस्तार तीव्र गतिमा भइरहेको छ।
फिनटेक अलायन्सले सञ्चालन गर्दै आएका कार्यक्रमहरू—फिनटेक फ्राइडे (सीप र ज्ञान सत्र), फिनहाइक (सामाजिक तथा मनोरञ्जनात्मक गतिविधि), र फिनटेक सोसल (नेटवर्किङ सत्र)—फिनटेक पेशेवरहरूबीच ज्ञान आदान–प्रदान र सहकार्य प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारिरहेका छन्।
संस्थाले नेपाली फिनटेक र आइटी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने अभियानमा अग्रणी भूमिका निभाइरहेको छ।




















प्रतिक्रिया