काठमाडौं । नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट डाइभर्ट भए अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् ।
अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् ।
निगमले मिति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेगरी भैरहवा विमानस्थललाई औपचारिक रूपमा वैकल्पिक विमानस्थल घोषणा गरेको छ । सो निर्णय मंसिर १ गते गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जनाएका छन् ।
अहिलेसम्म टीआईएमा खराब मौसम, भीडभाड वा अन्य कारणले अवतरण गर्न नसक्ने अवस्था आएमा नेपाल एयरलाइन्सका जहाज नजिकैको भारतीय विमानस्थलमा डाइभर्ट हुने गर्थे । अब भने भैरहवामा ल्यान्ड हुने भएका छन् । भारत जानु नपरे पछि उल्लेखनीय खर्च कटौती हुने विश्वास निगमको छ ।
यससँगै निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत अर्को वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न सकिने सम्भावनामा अध्ययन प्रक्रिया सुरु गर्ने निर्णय पनि गरिएको प्रवक्ता घिमिरेले बताए ।




















प्रतिक्रिया