नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ ।
नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब रु ८० लाख लाग्ने अनुमानसहित स्रोत सुनिश्चित गर्दै एक साताभित्र वडा कार्यालयमार्फत राहत रकम वितरण गर्ने निर्णय गरेको हो । धानबाली क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा, नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कर्मचारी, स्वास्थ्य संस्था, विद्यालयका शिक्षक–कर्मचारीको एक दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । उनले अपुग हुने रकम नगरपालिकाबाट थप गरिने बताए ।
गत कात्तिक ११ गतेदेखि परेको अविरल वर्षाले प्रभावित भएका किसानको कात्तिक १६ गतेदेखि तीन दिन लगाई तथ्याङ्क सङ्कलन गरिएको थियो । जनप्रतिनिधि, प्रहरी र कृषि प्राविधिकको रोहवरमा गरिएको क्षतिको विवरण र किसानले दिएको निवेदनका आधारमा नगरका एक हजार ५५७ किसान प्रभावित भएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए । उनले ती किसानले सात हजार ७४५ रोपनी खेतमा लगाएको धानबालीमा वर्षाले क्षति पुगेको पाइएको बताए ।




















प्रतिक्रिया