Logo

प्रमुख समाचार

सरकार, जेनजी र राजनीतिक दलहरूलाई संयमित हुन नागरिक समूहको आग्रह



काठमाडौं । बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनापछि देशमा संवेदनशील अवस्था देखिएको भन्दै नागरिक समूहले सरकार, जेनजी समूह र राजनीतिक दलहरू तीनै पक्षलाई संयमित हुन आग्रह गरेको छ ।

समूहका अध्यक्ष विष्णुहरि दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले मुलुकलाई अनावश्यक संकटतर्फ धकेल्ने संकेत दिएको उल्लेख गर्दै सबै पक्षले जिम्मेवारीपूर्वक आचरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

विज्ञप्तिमा राजनीतिक स्थायित्व र आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको अराजनीतिक गतिविधिले लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पार्ने जनाइएको छ । विशेषगरी सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू, संरचनामा क्षति तथा दुवै पक्षका असजिला व्यवहारहरू निकै चिन्ताजनक रहेको नागरिक समूहको ठहर छ ।

‘कुनै पनि समूह, दल वा युवा आन्दोलनबाट संवैधानिक हकमा हस्तक्षेप र हिंसात्मक गतिविधि स्वीकार्य हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको नाममा कुनै समूहले कुनै दललाई लक्षित गरी निषेधात्मक कदम चाल्नु लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हो । त्यस्तै, दलहरूले पनि प्रतिवादका नाममा तनाव थप्ने हो भने सुरक्षा अवस्था जटिल बन्नुका साथै फागुन २१ को शान्तिपूर्ण निर्वाचन असम्भव बन्न सक्छ ।’

नागरिक समूहका अनुसार निर्वाचन शान्तिपूर्वक सम्पन्न हुन नसके देश राजनीतिक शून्यतामा फस्ने खतरा रहन्छ र त्यसका प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेछ ।

भदौ २३ र २४ को आन्दोलनले कमाएको सकारात्मक छवि हिंसा र निषेधका कारण नष्ट हुन नदिन चेतावनी दिइएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १०:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।