Logo

प्रमुख समाचार

गरिमा विकास बैंकको ‘गरिमा रेस रोड’ सम्पन्न



 

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘गरिमा रेस रोड’ सफलतापूर्वक सम्पन्न गरेको छ। “स्वस्थ जीवनशैलीका लागि खेलकुद” भन्ने नारासहित मंसिर ६ गते काठमाडौंमा सम्पन्न प्रतिस्पर्धामा खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा महिला तथा पुरुष मिलाएर जम्मा ६ प्रतियोगिता सञ्चालन गरिएको थियो।
गत वर्षबाट सुरु गरिएको दौड प्रतिस्पर्धाको यस दोस्रो संस्करणमा १,००० भन्दा बढी धावकको सहभागिता रहेको बैंकले जनाएको छ। खुला विधामा १० किलोमिटर दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौंडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ कार्यालय पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै समापन गरिएको थियो। त्यसैगरी, कर्पोरेट र भेट्रान विधाको ५ किलोमिटर दूरी न्यूरो अस्पताल, बाँसबारीसम्मको रुट तय गरिएको थियो।
खुला महिलातर्फ ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले ३४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन्। पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय २९ मिनेट १२ सेकेन्डको समय निकालेर विजेता बने। आर्मीका धावकहरूले खुला पुरुषतर्फ सबै पुरस्कार र महिलातर्फ चार पुरस्कार जित्दै उत्कृष्ट प्रदर्शन गरे।
विजेताहरूलाई खुला विधामा पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमशः रु. ५०,०००, रु. ३५,०००, रु. २०,०००, रु. १५,००० र रु. १०,००० प्रदान गरिएको थियो। कर्पोरेट तथा भेट्रान विधामा पनि पहिलो पाँच स्थानधारीलाई रु. ३०,000 देखि रु. ७,००० सम्म नगदसहित मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो।
कार्यक्रममा सञ्चालक, पूर्व सञ्चालक, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका अधिकारी, पत्रकार र बैंकका कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो। स्वागत मन्तव्यमा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यबारे बताएका थिए। समापन सत्रमा अध्यक्ष दिलिप प्रताप खाँणले स्वास्थ्यलाई मानव जीवनको मूल सम्पत्ति ठहर गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बैंकले वार्षिकोत्सवको भोलिपल्ट, मंसिर ७ गते देशभरका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम र १९ स्थानमा सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार ०८:३६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।