Logo

अर्थ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक



सर्वसाधारणलाई सामाजिक सुरक्षाको दायरामा समावेश गर्ने उद्देश्यसहित सञ्चालनमा आएको सामाजिक सुरक्षा कोषमा जम्मा योगदान रकम एक खर्ब नजिक पुगेको छ।

कोषका अनुसार हालसम्म योगदान रकम पाँच वर्षे अवधिमा बढ्दै जाँदा कुल रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ पुगेको छ।

कोषमा सूचीकृत रोजगारदाताको संख्या २२ हजार ३०९ पुगेको छ भने सूचीकृत श्रमिक तथा योगदानकर्ता २६ लाख ४१ हजार १८९ पुगेका छन्।

कोषले स्थापना पछिदेखि हालसम्म विभिन्न योजनाअन्तर्गत रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार ६८४ बराबरको दाबी भुक्तानी गरिसकेको छ।

कोषले उपलब्ध गराउँदै आएको औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत दुई अर्ब ५१ करोड २० लाख ९४ हजार ८२२ भुक्तानी भएको छ।

त्यस्तै दुर्घटना तथा अशक्तता योजनामा २२ करोड ८६ लाख ५३ हजार ४७५, आश्रित परिवार सुरक्षा योजनामा २९ करोड ७ लाख ७२ हजार ११६ र अवकाश योजनाअन्तर्गत १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार २७१ भुक्तानी गरिएको छ।

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई समेत अनिवार्य रूपमा कोषमा सहभागी गराउने व्यवस्था लागू गरेपछि योगदानकर्ता संख्या तीव्र रूपमा बढेको कोषले जनाएको छ।

स्वरोजगार श्रमिक, उद्योग-व्यवसाय तथा विभिन्न सङ्घ–संस्थाका कामदारले समेत कोषमार्फत दीर्घकालीन सामाजिक सुरक्षा पाउँदै आएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ०७:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।