अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपागाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
विशेष अदालत काठमाडौँमा आज उनीहरूविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो । राहदानी बाहकको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मितिभन्दा राहदानीमा उमेर घटाउने वा बढाउने उद्देश्यले बदनियतपूर्वक सरकारी कागजातमा अनधिकृत विवरण हेरफेर गरी राहदानी जारी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुँडामणि आपागाईं, तत्कालीन नायब सुब्बा रवीनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहालमाथि मुद्दा दर्ता गरिएको उल्लेख छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालसहित राहदानी बाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुङ्गेल र बलराम महतोमाथिसमेत भ्रष्टाचारको आरोप लगाइएको छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा विनोद कुँवरको राहदानीमा जन्म मिति ५ वर्ष घटाइएको उल्लेख छ । उनको नागरिकतामा १९७६-१०-१३ जन्म मिति र राहदानीमा १९८१-१०-१३ उल्लेख छ ।




















प्रतिक्रिया