Logo

खेलकुद

काठमाडाैंको तेस्रो जित, चितवन ५३ रनले पराजित



काठमाडौं । काठमाडाैं गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भएको बागमती डर्बी खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित हात पारेको छ ।

पाँच खेल खेलिसकेको काठमाडाैं तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।

काठमाडाैंले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

चितवनका लागि देव खनाल र रबि बोपाराले समान २१ रन बनाए भने सोहे तनविरले १८ रन जोडे ।

काठमाडौंका लागि रासिद खानले १.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले समान दुई/दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडाैंले १९.४ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाएको थियो ।

काठमाडाैंका लागि सिम्पसनले सर्वाधिक ६० रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै मिलिन्द कुमारले ४३ बलमा ३८ रन जोडे ।

१५ ओभरमा १०९/३ को अवस्थामा रहेको काठमाडौंले त्यसपछि थप ३३ रन जोड्दा बाँकी ७ विकेट गुमाएको थियो ।

चितवनका लागि सोहेल तनविरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रन्जित कुमार र कमलसिंह ऐरीले दुई/दुई तथा रवि बोपाराले एक विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार १५:२०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।