काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता महसुलको दोस्रो किस्ता बुझाउन उद्योगी–व्यवसायीलाई पत्राचारमार्फत ताकेता गरेको छ।
प्राधिकरणका वितरण केन्द्रहरूले पहिलो किस्ता भुक्तानी गरेको उद्योगीहरूलाई अब दोस्रो किस्ता समयमा तिर्न ध्यानाकर्षण गराएका हुन्।
उद्योगीहरूका अनुसार पठाइएको पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै, बाँकी रकम समयमै बुझाउन भनिएको छ। प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिइरहेको छ।
पत्राचारपछि हुलास स्टिल र अशोक स्टिलले दोस्रो किस्ता भुक्तानी गरिसकेका छन्।
गत कात्तिकमा बक्यौता नतिरेको कारण प्राधिकरणले २५ उद्योगको लाइन काटेको थियो। पहिलो किस्ता बुझाइसकेपछि उद्योगहरूले लाइन पुनः जडान गर्न सकेका थिए।
उच्च सरकारी तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई धरौटी मान्ने र कानुनी उपचार (पुनरवलोकन) गर्ने भनिएको थियो, तर प्राधिकरणले यसलाई नियमित किस्ताको रूपमा अघि बढाएको छ।
सूत्रअनुसार, २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बापत ३५ उद्योगको कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो।
पहिलो किस्ता तिरेसँगै ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै असुल गर्नु बाँकी रहेको छ। यो बक्यौता उद्योगहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल हो।




















प्रतिक्रिया