Logo

अर्थ

जेनजी आन्दोलनः पुनर्निर्माणमा थप ३६ अर्ब आवश्यक



भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनले भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको सरकारी अध्ययनले देखाएको छ।

राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठन गरिएको मूल्याङ्कन समितिले आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनअनुसार कूल क्षति करिब रु ८४ अर्ब ४५ करोड ७७ लाख पुगेको छ।

समितिका अनुसार सातै प्रदेशका ५४ जिल्लामा प्रभाव परेका घटनाले दुई हजार १६८ सङ्घ–संस्था तथा निकाय प्रभावित भएका छन्।

प्रतिवेदनले सरकारी संरचनामात्रै पुनर्निर्माण गर्न रु ३६ अर्ब ३० करोड आवश्यक पर्ने अनुमान प्रस्तुत गरेको छ।

आन्दोलनका क्रममा भएका मानवीय क्षतिसम्बन्धी तथ्यांक पनि प्रतिवेदनमा समावेश गरिएको छ। भदौ २३ गते २० जना, भदौ २४ गते ३७ जना र त्यसपछि थप २० जनाको मृत्यु भएको उल्लेख छ।

यसरी मृत्यु हुनेको संख्या ७७ पुगेको हो। साथै दुई हजार ४२९ जना घाइते भएका मध्ये १३ वर्षमुनिका १७ जना र १३ देखि २८ वर्ष समूहका एक हजारभन्दा बढी युवा रहेका छन्।

यातायात क्षेत्रमा मात्र ठूलो नोक्सानी भएको समितिको निष्कर्ष छ। १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा करिब रु १२ अर्ब ९३ लाख ६१ हजार बराबरको क्षति भएको छ।

सरकारी तथा सार्वजनिक क्षेत्रमा कूल रु ४४ अर्ब ९३ करोड ७३ लाखको क्षति देखिएको छ भने निजी क्षेत्रमा करिब रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबरको नोक्सान भएको उल्लेख छ।

सामुदायिक तथा अन्य क्षेत्रको क्षति रु पाँच अर्ब ९७ करोड १७ लाख बराबर रहेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ०८:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।