Logo

अर्थ

नबिल बैंकको नाफा ४६.७१ प्रतिशतले बढ्यो, दोस्रो त्रैमाससम्म पौने ५ अर्ब



काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा झण्डै पौने ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ३ अर्ब २४ करोड रुपैयाँ थियो।

यस आधारमा चालू वर्षको दोस्रो त्रैमाससम्म बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको देखिन्छ। खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज रिभर्स भएकाले नाफा उल्लेख्य रूपमा बढेको बैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत र खुद फी तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेको छ।

कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा भने २६.९५ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड ८८ लाख रुपैयाँ रिभर्स भएको छ।

नबिल बैंकले हालै ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गरेपछि बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

बैंकको जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।

पुस मसान्तसम्म बैंकले ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५० पैसा रहेको छ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६ पैसा बढेर ३५ रुपैयाँ ४ पैसा पुगेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ६४ पैसा रहेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०६:४९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।