Logo

शेयर बजार

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ १५) अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबरको २० करोड रुपैयाँ मूल्यको २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी ८ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

यी सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको छ, जसको कुल रकम ८ करोड ३० लाख रुपैयाँ बराबर हुन्छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

भुजुङ्ग हाइड्रोपावरले ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष बाँकी छ। यस आयोजनामा साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ।

कम्पनीले सो आयोजनाबाट २०८१ वैशाख ६ गतेदेखि विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमार्फत बिक्री गरिरहेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०८:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।