Logo

राजनीति

सुबेदी ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा नियुक्त



काठमाडौँ । गोरखापत्र संस्थानअन्तर्गतको अङ्ग्रेजी दैनिक ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादक पदमा ऋतुराज सुबेदी नियुक्त हुनुभएको छ ।

संस्थान व्यवस्थापनले उहाँलाई वैशाख ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि सो जिम्मेवारी सुम्पिएको हो ।

सुबेदी हाल संस्थानमा दशौँ तहको कार्यकारी सम्पादकका रूपमा कार्यरत रहँदै फिचर शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

वि.सं. २०२८ कात्तिक ४ गते सिन्धुलीको कमलामाई नगरपालिका–१० मा जन्मनुभएका सुबेदीले त्रिभुवन विश्वविद्यालयबाट सन् १९९४ मा अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।

सन् १९९१ मा जनकपुरबाट प्रकाशित ‘नयाँ पाइला’ साप्ताहिकमार्फत पत्रकारिता यात्रा प्रारम्भ गर्नुभएका सुबेदीसँग अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता तालिम र अनुभव रहेको छ ।

उहाँले सन् २००३ मा श्रीलङ्काको विदेश मन्त्रालयद्वारा सञ्चालित आधारभूत पत्रकारिता तालिम लिनुका साथै सन् २००६ मा दक्षिण एसियाली पत्रकार फेलोसिप र कोरियन प्रेस फाउन्डेसन फेलोसिप अन्तर्गत सियोलमा सहभागिता जनाउनुभएको थियो ।

उहाँले विश्व व्यापार सङ्गठन (डब्लुटीओ) का जेनेभा र हङकङमा आयोजित शिखर सम्मेलनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चको प्रत्यक्ष रिपोर्टिङ गर्नुभएको छ ।

डेढ दशकभन्दा बढी समयदेखि ‘द राइजिङ नेपाल’ मा नियमित स्तम्भकारका रूपमा समेत सक्रिय सुबेदीसँग पत्रकारिता क्षेत्रको लामो अनुभव रहेको छ । यो समाचार गोरखापत्रमा छ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार २०:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।