Logo

प्रमुख समाचार

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का निर्विरोध

आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्राथमिकता दिन्छु: सभापति खड्का



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन् । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए ।

बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो ।

शुक्रबार बसेको समिति बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका सदस्य सांसद योगेश गौचन थकालीले जानकारी दिए ।

२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।

गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी समितिलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
विगतमा भएका विसङ्गतीहरु नदोहोरिने विश्वास दिलाए ।

उनले भने,‘जुन जिम्मेवारी मैंले प्राप्त गरेको छु, त्यसलाई मेरो विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी यो समितिलाई अगाडि बढाउने छु । विगतका केही विसङ्गतीहरु पनि छन् ,तर ती दोहोरिनेवाला छैन् । ’

आर्थिक सुशासन र वित्तिय अनुशासनलाई प्रमुख एजेण्डाको रुपमा आफूले लिएको उनको भनाई छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १४:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।