Logo

राजनीति

सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु: सांसद महर



काठमाडौं। नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन्।

आइतबार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए। साथै, उनले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी पनि गरे।

वर्तमान सरकारलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया नभएको उनको आरोप थियो। सरकारले ल्याएको शासकीय सुधारको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेजीको आशय लुकेको भन्दै त्यसको भोलिपल्टै देश ठप्प पार्नुपर्नेमा विद्यार्थी नेतृत्व अझै किन मौन रु रहेको भनी उनले प्रश्न समेत गरे।

‘यो सरकार अलोकतान्त्रिक, अराष्ट्रिय र आयातित छ। यसलाई नेपालको राष्ट्रियता र स्वाधीनताप्रति कुनै माया छैन,’ उनले भने, ‘तपाईंहरू सडक तताउनुस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ। आवश्यक पर्‍यो भने यो सांसदको लोगो फुकालेर तपाईंहरूसँगै सडकमा आउन म तयार छु।’

उनले गणतन्त्र ल्याउन राजनीतिक दलभन्दा अगाडि विद्यार्थीले रगत बगाएको स्मरण गराउँदै अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई नै काम नलाग्ने बनाउन खोज्नु स्वीकार्य नहुने बताए।

संविधानको धारा ३१ मा उल्लेखित शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई मुख्य आन्दोलनको एजेण्डा बनाउन उनले विद्यार्थीलाई सुझाए।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १९:५७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।