काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए त्यसले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्याउने चेतावनी दिँदै तत्काल उच्चस्तरीय छानबिन थाल्न माग गरेको छ ।
गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ ।
‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’
विवादस्पद व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री विवादमा तानिएका छन् ।




















प्रतिक्रिया