Logo

राजनीति

ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

महामन्त्री पौडेलले सरकारीमा रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको बताए ।

विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए ।

सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र सेवाको समय बढाउने जस्ता सुधारका कामहरू सुरुवात गरेको उनले बताए ।

स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका उनले बताए ।

अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका उल्लेख गरे ।

सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन बताए ।

उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट वञ्चित गर्ने होइन यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक रहेको जानकारी गराए ।

आफूहरूले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारलाई अनुरोध समेत गरे ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार ०९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।