Logo

विविध

‘भानु साहित्य उद्यान’ निर्माणले विश्वभरका नेपालीभाषीलाई जोड्ने, पर्यटनलाई टेवा पुग्ने



काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र उनको जन्मथलो तनहुँको चुँदीरम्घालाई विश्वमा परिचित गराउन राष्ट्रिय गौरवको परियोजना अगाडि बढाइएको छ ।

नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ गौरवको योजना अन्तर्गत ‘भानु साहित्य उद्यान’ निर्माणको प्रारम्भ गरिएको हो । उद्यानमार्फत नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।

भानु नगरपालिका–४ चुँदीरम्घामा राष्ट्रिय गौरवको आयोजनाका रूपमा उद्यान निर्माण सुरु गरेर अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्ने अभियानको थालनी भएको हो ।

सोमबार उद्यानको शिलन्याश समारोहमा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले उद्यानमार्फत नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने विश्वास लिइएको बताए ।

उनले भानुभक्त आचार्यले देखाएको बाटोमा हिड्दै सामाजिक सद्भाव र समानतामा आधारित समाज निर्माणमा आफूहरु प्रतिवद्ध रहेको बताए । ‘हामी भानुले देखाएको बाटोमा हिड्न तयार छौं । त्यसका लागि सामाजिक सद्भाव र समानतामा आधारित समाज निर्माणमा तल्लिन छौं,’ उनले भने ।

उनले चुँदीरम्घालाई विश्वको एक आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको सुनाए । भानुभक्तले भाषिक क्रान्ति गरेको उल्लेख गर्दै नेपाली मनहरुलाई एउटै शुत्रमा गाँस्ने काम गरेको औंल्याए ।

गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले गण्डकी प्रदेशन पर्यटनको राजधानी रहेको उल्लेख गर्दै अब कला, संस्कृति, लोक सस्कृतिले भरिएर बनेको समाजमा साहित्य थपिएको बताए ।

उनले साहित्यलाई पर्यटनसँग जोडिएर भानु साहित्यलाई दुनियामा बेच्न सकियो भने गण्डकी प्रदेशको मात्र नभइ राष्ट्रकै उन्नती हुने बताए ।

यसैगरी, डा.बासुदेव त्रिपाठीले भानुभक्तको योगदानको चर्चा गर्दै भानुभक्तको जन्मस्थलको विकासको योजनाको अवधारणा पत्र तयार गरेको बताए ।

यसैगरी, प्रा.डा. ब्रतराज आचार्यले भानुभक्त नेपाली भाषाका आदिकवि, नेपालका राष्ट्रिय विभूति मात्र नभई नेपालीभाषी समुदायलाई मातृभाषाको सम्बद्र्धनका निम्ति उत्प्रेरणा दिइने साधक रहेको बताए । उद्यानको संचालनमा सबै पक्षको भावनालाई समेट्ने गरी एउटा निश्चित समर्थन अनुसार निर्माण गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य संजय आर्चायले कुनै पनि योजनालाई दीर्घकालमा प्रतिफलयुक्त र वित्तीय हिसाबले एउटा आकर्षक परियोजनाको रुपमा विकास गर्नको लागि मेहनत गर्नुपर्ने बिन्दुमा रहेको बताए ।

शिलन्याश समारोहमा बोल्दै संघीय प्रतिनिधीसभा सदस्य श्रीराम न्यौपानेले उद्यान निर्माणले भाषा, साहित्य र संस्कृतिप्रति श्रद्धा प्रकट गर्ने तथा भावी पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण अवसर पनि रहेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार १८:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।