काठमाडौँ ।सरकारले निजामती र स्वास्थ्य सेवामा आबद्ध राष्ट्रियस्तरका १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कानुनी व्यवस्थाअनुसार ती युनियनहरूको दर्ता खारेज गरिएको जनाएको हो।
विभागका अनुसार नेपाल निजामती सेवा ऐन, २०७४ अन्तर्गत दर्ता भएका आठ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका चार वटा ट्रेड युनियन खारेजीमा परेका छन्।
निजामती सेवाअन्तर्गत नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन नेपालको दर्ता खारेज गरिएको हो।
त्यसैगरी स्वास्थ्य सेवाअन्तर्गत नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको पनि दर्ता खारेज गरिएको विभागका प्रवक्ता मणिनाथ गोपले जानकारी दिए।
उल्लेखित ट्रेड युनियनहरू निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत विभागमा दर्ता भएका थिए।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत सार्वजनिक सेवामा ट्रेड युनियनसम्बन्धी व्यवस्था हटाएपछि ती युनियनहरू निष्क्रिय भएका थिए। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै उनीहरूको कानुनी हैसियत समाप्त भएको हो।





















प्रतिक्रिया