Logo

कर्पोरेट टक

प्रभु बैंकको रेटिङमा निरन्तर गिरावट: ‘नेगेटिभ वाच’, खराब कर्जा ८ प्रतिशत नाघ्यो



काठमाडौं । प्रभु बैंक लिमिटेडको साखमा निरन्तर गिरावट आएको छ । साख मूल्यांकन एजेन्सीले बैंकको वित्तीय अवस्था स्वस्थ नरहेको औँल्याउँदै रेटिङ घटाइएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको इस्युअर रेटिङ ‘ट्रिपल बी माइनस’बाट घटाएर ‘डबल बी प्लस’ मा झारेको हो ।

साथै, इक्रा नेपालले प्रभु बैंकलाई ‘नेगेटिभ वाच’ लिस्ट अर्थात् नकारात्मक निगरानी सूचीमै राखेको छ।

इक्रा नेपालका अनुसार बैंकको सम्पत्तिको गुणस्तर कमजोर बन्दै जानु, खराब कर्जा निरन्तर बढ्नु र पूँजीकोषमा दबाब पर्नु रेटिङ घट्नुका मुख्य कारण हुन् ।

त्यस्तै बैंकद्वारा जारी १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको रेटिङ पनि ‘एल ट्रिपल बी माइनस’बाट घटाएर ‘एल डबल बी प्लस’ कायम गरिएको छ । एक्राको रिपोर्टअनुसार बैंकको खराब कर्जा (एनपीएल) एक वर्षमै उल्लेख्य रूपमा बढेको छ ।

सन् २०२५ जनवरीमा ५.०६ प्रतिशत मात्र रहेको खराब कर्जा सन् २०२६ जनवरीको मध्यसम्म आइपुग्दा बढेर झण्डै ८ प्रतिशत अर्थात् ७.९४ प्रतिशत पुगेको छ ।

त्यस्तै, बैंकबाट प्रवाह भएका कुल कर्जामध्ये १३.४ प्रतिशत कर्जा ६१ देखि ९० दिनसम्म भाखा नाघेको अवस्थामा रहेको इक्राले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

त्यसैगरि बैंकको प्राथमिक पूँजीकोष अनुपात पनि घटेर ८.६८ प्रतिशतमा पुगेको छ, जुन नेपाल राष्ट्र बैंक ले तोकेको न्यूनतम सीमा ८.५ प्रतिसतकै नजिक हो ।

इक्राले बैंकको खराब कर्जा यही अनुसार निरन्तर बढेमा नियामकीय सीमा कायम राख्न बैंकलाई चुनौती हुने भन्दै सचेत गराएको छ ।

त्यसो त चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रभु बैंकले १ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ रहेको छ भने कुल सम्पत्ति ४ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । सम्पत्तिमा प्रतिफल भने घटेर ०.५० प्रतिशतमा सीमित भएको छ ।

इक्राले प्रभु बैंकमाथि संस्थागत सुशासनसम्बन्धी प्रश्न समेत उठाएको छ। आर्थिक शिथिलता तथा मध्यपूर्वमा बढ्दो तनावका कारण रेमिट्यान्स प्रवाहमा पर्न सक्ने असरले बैंकको निक्षेप वृद्धिमा थप दबाब पर्न सक्ने इक्राले औंल्याएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लाई प्राप्ति गरेपछि प्रभु बैंकको देशभर ३ सय १२ शाखा, ६९ एक्स्टेन्सन काउन्टर र २ सय ६० एटिएम सञ्चालनमा छन् ।

बैंकको निक्षेपमा ४.४८ प्रतिशत र कर्जामा ४.१९ प्रतिशत बजार हिस्सा रहेको इक्रा नेपालले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार १७:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।