Logo

राजनीति

मदन-आश्रित स्मृति दिवश प्रभावकारी रुपमा मनाउन एमालेका कमिटीहरुलाई केन्द्रको सर्कुलर



काठमाडौं । नेकपा एमालेले नेपाली कम्यूनिष्टका नविन बिचारक मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको जेठ ३ गते मनाइने स्मृति दिवश प्रभावकारी रुपमा मनाउन पार्टी केन्द्रले प्रदेश र जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ । महासचिव शंकर पोखरेलले एक सर्कुलर पठाउँदै पार्टी बिचार,योगदान र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकलतामा कार्यक्रम बनाउन विभिन्न जनसंगठनहरुलाई पनि तोकेरै निर्देशन पठाएका छन् ।

पार्टी केन्द्रीय कार्यलयबाट प्राप्त जानकारी अनुसार काठमाडौंमा मदन नगर बल्खुमा कार्यक्रम आयोजना जेठ ३ गते बिहान ७.४५ बजे कार्यक्रम आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा पार्टी केन्द्र,उपत्यका मातहतका कमिटी,जनसंगठनका काठमाडौंमा उपलब्ध सम्पूर्ण कार्यकर्तालाई अनिवार्य उपस्थित हुने भनिएको छ ।

प्रदेश तथा जिल्लामा मदन आश्रितका योगदानको चर्चा गर्ने,बिचार गोष्ठी गर्ने,सञ्चार माध्यमहरुमा जनताको बहुदलीय जनवादका बारेमा परिसंवाद आयोजना गर्न एमालेले निर्देशन पठाएको छ । यस्तै वृक्षारोपण,रक्तदान,स्वास्थ्य शिविर,कैदीबन्दी भेट्ने,अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन आश्रितका तस्विर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिएको छ ।

महासचिव पोखरेलले पठाएको सर्कुलरमा उल्लेख भए अनुसार अनेरास्ववियूलाई हरेक माध्यमिक विद्यालय परिसर बाहिर मदन आश्रितलाई चिनाउने फोटो प्रदर्शनी,पर्चा र पम्पलेट प्रदर्शन गर्न भनिएको छ । युवा संघलाई हरेक पालिकामा मार्च पास गर्न भनिएको छ । अनेम संघलाई हरेक घरका ज्येष्ठ महिलालाई भेट्न निर्देशन गरिएको छ । अखिल नेपाल किसान संघका कार्यकर्ताले आफ्नो बारी वा सार्वजनिक स्थलमा फलफूलका दुईवटा विरुवा रोप्न भनिएको छ ।

जिफन्ट र भूमी अधिकार तथा श्रमिक संगठनले उपत्यका बाहिरका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूपू सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा समन्वय गरी बिस्थापित सुकुम्बासीहरुलाई भेटी उनीहरुको अवस्था बुझ्न निर्देशन दिएको छ । कार्यक्रमका सबै गतिविधि सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत व्यापक रुपमा प्रचार प्रसार गर्न पनि सर्कुलरमा निर्देशन गरिएको छ । सर्कुलरमा आफूले गरेको कार्यक्रमको संक्षिप्त प्रतिवेदन जिल्ला कमिटी मार्फत केन्द्रीय कार्यलयमा पठाउन भनिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार १४:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।