काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बाहिरिएको विषय सदनमा उठाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिएका थिए।
प्रमुख सचेतक थापाले सोमबारको बैठकमा देखिएको दृश्य लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने र गम्भीर प्रकृतिको भएको बताइन्। आफ्नै सरकारको नीति तथा कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल सामान्य घटना मात्र नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरित भएको उनको ठहर छ।
पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुने भन्दै उनले यस विषयमा प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।
थापाले भनिन्, ‘राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभई संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्व विपरीत हो। यस विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ आवश्यक छ।’





















प्रतिक्रिया