Logo

प्रमुख समाचार

संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, अब यी १७ वटा हुने



काठमाडौं । संघीय सरकारका मन्त्रालयहरूको संख्या १७ वटा बनाइने भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेसँगै हाल २१ को संख्यामा रहेका मन्त्रालय मध्ये ४ वटा अन्य मन्त्रालयमा विलय हुँदा १७ वटा मन्त्रालय हुने भएका हुन् ।

वालेन्द्र शाह ‘बालेन’नेतृत्वको सरकारले प्रशासनिक खर्च कटौती र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन संघीय मन्त्रालयहरूको संख्या कटौती गरेको हो । सरकारको ‘सय दिनमा गर्ने सय काम’ को योजनाअन्तर्गत यो महत्वपूर्ण प्रशासनिक पुनर्संरचना सुरु गरिएको हो ।

प्रस्तावित नयाँ संरचनाअनुसार हाल कायम रहेकामध्ये चारवटा मन्त्रालयको अस्तित्व समाप्त भएको छ । खारेज हुने मन्त्रालयहरू युवा तथा खेलकुद, सहरी विकास, खानेपानी तथा सरसफाइ र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय रहेका छन् ।

यी मन्त्रालयका कार्यभारहरू अन्य मन्त्रालयमा गाभिनेछन् । जसअनुसार सहरी विकास र खानेपानी मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभी ‘एकीकृत भौतिक पूर्वाधार मन्त्रालय’ बनाइएको छ । यसैगरी खेलकुदलाई शिक्षामा समेटेर ‘शिक्षा तथा खेलकुद मन्त्रालय’ बनाइएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत करिब ५० वटा निकाय रहने छन् । जसको व्यवस्थापनका लागि एकजना उपप्रधानमन्त्री वा वरिष्ठ मन्त्रीलाई जिम्मेवारी दिने तयारी छ ।

यी हुनेछन् मन्त्रालयहरूको नाम:
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. अर्थ मन्त्रालय
३. गृह मन्त्रालय
४. परराष्ट्र मन्त्रालय
५. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
७. शिक्षा तथा खेलकुद मन्त्रालय
८. कृषि, भूमि, सहकारी तथा ग्रामीण विकास मन्त्रालय
९. सामाजिक सुरक्षा तथा महिला, बालबालिका र लैंगिक तथा यौनिक अल्पसङ्ख्यक मामिला मन्त्रालय
१०. उद्योग, वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय
११. युवा, श्रम तथा रोजगार मन्त्रालय
१२. ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय
१३. एकीकृत पूर्वाधार मन्त्रालय
१४. वन, पर्यावरण तथा जलवायु मन्त्रालय
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१६. सञ्चार मन्त्रालय
१७. रक्षा मन्त्रालय

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार १३:१८   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।