Logo

अर्थ

ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र हटाउन महानगरको निर्देशन, नलगे लिलाम गर्ने चेतावनी



काठमाडौँ। काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी ४के टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।

महानगरपालिका वडा नं. ३ का मृगेन्द्रप्रसाद मिश्र र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईबीचको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ मुद्दामा महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते वादीको पक्षमा फैसला गरेको थियो।

सोही फैसलाअनुसार बाँकी घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो।

तर निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो। त्यसपछि २०८२ कात्तिक १४ गते महानगरले घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाएको थियो।

फैसला कार्यान्वयन भएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि सामान नहटाइएपछि घरधनीले २०८३ वैशाख २१ गते ती सामान लिलाम गर्न निवेदन दिएका थिए। सोही आधारमा महानगरले १५ दिने म्याद दिँदै अन्तिम अवसर दिएको हो।

तोकिएको समयभित्र बाँकी बहाल रकम बुझाई सामान नहटाएमा न्यायिक समितिको कार्यविधिअनुसार ती सामान लिलाम गरिने चेतावनीसमेत दिइएको छ।

उक्त टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्व तथा जीबी राईलगायतको लगानीमा सञ्चालनमा आएको थियो। लामिछाने राजनीतिमा प्रवेश गरेपछि टेलिभिजन प्रसारण बन्द भएको थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार ०९:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।