Logo

राजनीति

संविधान संशोधनमा हिन्दु राष्ट्र र राजसंस्थाका विषय समेट्न राप्रपाको माग



काठमाडौं । खुश्बु ओलीले संविधान संशोधनको प्रक्रियामा सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र प्रदेश संरचनाको पुनरावलोकन जस्ता विषयलाई अनिवार्य रूपमा समेट्न सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी महत्वपूर्ण विषय नसमेटिएको भन्दै आपत्ति जनाइन्। वैदिक सनातन धर्म, राजसंस्था र प्रदेश खारेजीको पक्षमा रहेका नागरिकहरूको आवाजलाई सरकारले जनताको सुझावका रूपमा स्वीकार नगरेको उनको आरोप थियो।

उनले विगतमा जनताबाट लिइएका सुझावहरूलाई बेवास्ता गरिएको उल्लेख गर्दै यसपटक पनि जनभावनालाई “डिजिटल बोरामा थन्क्याउने” प्रयास नगर्न सरकारलाई सचेत गराइन्।

ओलीले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा पर्याप्त राष्ट्रिय बहस र जनअभिमत नलिइएको दाबी गर्दै धर्मान्तरण तीव्र रूपमा भइरहेको आरोपसमेत लगाइन्। “वैदिक हिन्दु र बौद्ध सहितको सनातन राष्ट्र हुनुपर्छ भन्ने नागरिकहरू सरकारको नजरमा जनता हुन् कि होइनन् ? धर्मनिरपेक्षताको आडमा गरिबी र पछौटेपनको फाइदा उठाएर तीव्र रूपमा धर्मान्तरण भइरहेको छ,” उनले भनिन्।

प्रमुख सचेतक ओलीले संविधान संशोधनको अन्तिम मस्यौदामा आफ्ना माग सम्बोधन नभए देशभरका राष्ट्रवादी शक्ति र सनातन धर्मावलम्बीहरू निर्णायक संघर्षमा उत्रिने चेतावनीसमेत दिइन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १४:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।