वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारी कागजात किर्ते, झुठा विवरण पेश गरी नागरिकता तथा अन्य सरकारी कागजात बनाएको आरोपमा दायर मुद्दामा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
सरकारी वकिल कार्यालय पर्साले जेठ १ गते मेयर सिंहसहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका अनुसार उनीहरू अदालतमा उपस्थित नभएपछि अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पक्राउ पुर्जी जारी गरिएको हो ।
मुद्दामा अर्काकी छोरीलाई नक्कली हस्ताक्षरका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी बनाइएको आरोप लगाइएको छ । उक्त प्रकरणमा मेयर सिंहसँगै उनकी दोस्रो भनिएकी श्रीमती, उनकी छोरी तथा पञ्जीकरण अधिकारीलाई समेत प्रतिवादी बनाइएको छ । अदालतले चारै जनाविरुद्ध पक्राउ अनुमति जारी गरेको जनाएको छ ।
जिल्ला अदालत पर्साका अनुसार मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखतसम्बन्धी कसुरको दफा २७६ को उपदफा (१), (२) र (३) (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत किर्ते गर्ने कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंहविरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाइदिएको तथा लिखतसम्बन्धी कसुरमा छुट्टाछुट्टै दुई मुद्दा दायर गरेको जनाएको छ ।





















प्रतिक्रिया