काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन केवल प्राकृतिक सम्पदा वा धार्मिकस्थलको विषय मात्रै नभई व्यवस्थापन, संस्कृति र कथासँग जोडिएको क्षेत्र भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘पर्यटन सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पर्यटनलाई बुझ्ने दृष्टिकोण व्यापक हुनुपर्ने बताए।
उनले नेपालको हिमाल, संस्कृति, जातीय विविधता र धार्मिक सम्पदाले मात्रै पर्यटन सफल नहुने उल्लेख गर्दै व्यवस्थापकीय क्षमता र प्रभावकारी कानुन आवश्यक रहेको बताए।
‘पर्यटन खासमा व्यवस्थापकीय कला हो, त्यसलाई कानुनले निर्देशित र नियमन गर्नुपर्छ,’ उनले भने।
मन्त्री पौडेलले पर्यटनलाई कथा निर्माणसँग तुलना गर्दै कुनै पनि स्थानलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले पर्यटन उद्योगको सफलता निर्धारण गर्ने धारणा राखे।
‘पर्यटन भनेको खासमा के छ भन्ने होइन, त्यसलाई कसरी बताइन्छ भन्ने हो। पर्यटन कथा हो,’ उनले भने।
उनले नेपालको भूगोल, संस्कृति र जीवनशैलीबीचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्दै हिमाली, पहाडी र मधेसी समुदायका नृत्य, गीत, रहनसहन तथा संस्कृतिलाई प्रकृतिले निर्देशित गरेको बताए।
उनका अनुसार हिमाली भेगमा सामूहिक रूपमा हात समातेर गरिने नृत्य त्यहाँको कठोर भौगोलिक अवस्थासँग जुध्ने संस्कृतिको अभिव्यक्ति हो भने पहाडमा पुगेपछि त्यही संस्कृति गतिशील र स्वतन्त्र शैलीमा विकसित हुन्छ।
मधेसमा भने सामूहिकता र स्वतन्त्रता मिश्रित सांस्कृतिक स्वरूप देखिने उनको भनाइ थियो।
मन्त्री पौडेलले पर्यटन सम्बन्धी विधेयकमा अझ धेरै सुधार र व्यापकता आवश्यक रहेको स्वीकार गर्दै त्यसमा केही सुधार गर्नुपर्ने धेरै पक्ष रहेको बताए।
‘म विभागीय मन्त्री भए पनि यस विधेयकमा सुधार गर्नुपर्ने धेरै पक्ष छन् भन्ने मलाई लाग्छ,’ उनले भने।
उनले वर्तमान समय डिजिटल पर्यटनतर्फ अघि बढिरहेको उल्लेख गर्दै अब घरमै बसेर विश्वका सम्पदास्थल अवलोकन गर्न सकिने अवस्था आएको बताए।
पाटन दरबार संग्रहालयजस्ता सम्पदालाई भर्चुअल माध्यमबाट विश्वभर प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै उनले नयाँ प्रविधि र डिजिटल पेमेन्ट प्रणालीलाई समेत कानुनले समेट्नुपर्ने बताए।
उनले समितिमा विधेयकमाथि थप दफावार छलफल हुने विश्वास व्यक्त गर्दै पर्यटन क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार गरिनुपर्नेमा जोड दिए।




















प्रतिक्रिया