Logo

अर्थ

आठ महिनामा ५ लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा



काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या हालसम्म ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार महिला श्रमिकको हिस्सा ७.१ प्रतिशत र पुरुषको ९२.९ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म (पहिलो आठ महिनामा)भने ५ लाख २५ हजार ५ सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। तीमध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या २ लाख ७३ हजार ५ सय ३० रहेको छ, जुन गत वर्षको तुलनामा १३.७ प्रतिशतले कमी हो।

तर बिदामा आएर पुनः श्रम स्वीकृति (नवीकरण) लिएर जानेको संख्या भने १५.९ प्रतिशतले बढेर २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ ।

चालु वर्षमा बिदेसिने कुल कामदारमध्ये पुरुषको हिस्सा ८७.९ प्रतिशत र महिलाको हिस्सा १२.१ प्रतिशत रहेको छ । आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत मात्रै सन् २०२६ को जनवरीदेखि मे २१ सम्म थप २ हजार ४ सय ८२ नेपाली कामदार कोरिया गएका छन् ।

सरकारले हालसम्म १११ देशलाई संस्थागत रूपमा श्रम स्वीकृत खुला गरेको छ ।

सर्वेक्षणले वैदेशिक रोजगारीको अँध्यारो पाटोको रूपमा रहेको मृत्यु र अङ्गभङ्गको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा १ हजार ८६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।

सोही अवधिमा मृतकका परिवार तथा हकवालालाई क्षतिपूर्ति बापत ६३ करोड २२ लाख प्रदान गरिएको छ । यसै अवधिमा गम्भीर बिरामी तथा अङ्गभङ्ग भएका ६०१ जना कामदारले आर्थिक सहायता पाएका छन् भने ज्यान गुमाएका श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले शिक्षामा छात्रवृत्ति सुविधा पाएका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म २७३ वटा मुद्दा अदालतमा दायर भई क्षतिपूर्ति बापत ३ करोड ५० लाख १८ हजार ६ सय रुपैयाँ पीडितलाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १८:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।