Logo

अर्थ

के हो सरकारले ल्याएको ‘भ्याटबाट लखपति’ योजना ?



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धि करको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताएका हुन्।

‘अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन हामी केहीलाई लखपति बनाउँछौं,’ उनले भने।

यो योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई पनि सहभागी गराइने उनको भनाइ छ। मूल्य अभिवृद्धि करको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनले बताए।

उनले राजस्व संकलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताए।

मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले १० लाखसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गरे।

अर्थमन्त्री डा. वाग्लेले विद्युतीय पूर्वाधार निर्माणका लागि बिजुलीको महसुलमा सामान्य शुल्क लगाउन लागिएको समेत बताए।

विद्युतीय पूर्वाधार निर्माणका लागि मात्रै आगामी आर्थिक वर्षका लागि ८५ अर्ब ५४ करोड बराबरको बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले लगानीको स्रोत जुटाउनका लागि ५० युनिटभन्दा बढी विद्युत उपभोग गर्नेलाई पाँच प्रतिशत बराबरको कर प्रस्ताव गरिएको बताए।

यस्तै, निजी विद्यालयमा अध्ययन गर्ने र निजी अस्पतालमा उपचार गर्नेका हकमा उठाउन लागिएको समता कोष सार्वजनिक पूर्वाधार विकास र दुर्गम क्षेत्रका विद्यार्थीको पोषणका लागि खर्च गरिने उनको भनाइ थियो।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार २०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।