Logo

प्रमुख समाचार

सीमाबारे प्रधानमन्त्री बालेनको अभिव्यक्ति हटाउनुपर्ने विपक्षी दलहरूको अडान



काठमाडौं । भूमिबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राईलगायतका नेताहरू सहभागी छन् ।

एमाले संसदीय दलका उपनेता पद्‍मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निश्कल राईसहितका अन्य नेताहरू समेत उपस्थित छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल-भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए । यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदीय अखिलेखबाटै हटाउनुपर्ने माग राखेका छन् । यो मागलाई अडानकै रुपमा संसद्मा राख्ने तयारी विपक्षी दलहरूको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्तिबारे प्रष्टीकरण माग्दै बेल घेर्ने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस सांसद उर्मिला थपलिया ‘सिता’ले जानकारी दिइन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार १३:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।