Logo

अर्थ

मोबाइल बैंकिङको पासवर्ड फेर्दा पनि शुल्क! सुरक्षा सेवामै कमाइ खोज्दै शाइन रेसुङ्गा बैंक?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले मोबाइल बैंकिङको पासवर्ड परिवर्तन तथा रिसेट सेवामा शुल्क लिने गरेको पाइएको छ ।

बैंकले सार्वजनिक गरेको मोबाइल बैंकिङ सेवा शुल्कअनुसार पासवर्ड वा पिन पुनः जारी (रिसेट) गर्दा ग्राहकले प्रति पटक ५० रुपैयाँ शुल्क असुल्ने व्यवस्था गरेको तथ्य भेटिएको छ ।

डिजिटल बैंकिङ सेवा विस्तार हुँदै गएको वर्तमान अवस्थामा अधिकांश अनलाइन सेवा प्रदायकहरूले पासवर्ड परिवर्तन वा रिसेटलाई निःशुल्क सुविधा प्रदान गर्दै आएका छन् । तर, सुरक्षासँग प्रत्यक्ष जोडिएको सेवामै शुल्क लगाएपछि बैंकको नीतिमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।

साइबर सुरक्षाका दृस्टीले ग्राहकलाई नियमित रूपमा पासवर्ड परिवर्तन गर्न र आवश्यक पर्दा तत्काल रिसेट गर्न प्रोत्साहित गर्नुपर्ने हुन्छ। तर शुल्कको डरले ग्राहकले पासवर्ड परिवर्तन गर्न हिच्किचाउन सक्ने अवस्था सिर्जना भएपछी यसले सुरक्षा जोखिम थप बढाएको छ ।

बैंकिङ सेवा डिजिटलीकरण हुँदै जाँदा ग्राहकको सुरक्षा सुनिश्चित गर्नु बैंकको प्राथमिक दायित्व मानिन्छ। यस्तो अवस्थामा सुरक्षा केन्द्रित आधारभूत सेवामै शुल्क तोक्नु ग्राहकमैत्रीभन्दा पनि बैंक नाफा मुखी भएको टिप्पणी हुन थालेको छ ।

सामाजिक सञ्जालमा समेत धेरै सेवाग्राहीले ‘पासवर्ड बिर्सिनु कुनै अतिरिक्त सुविधा नभइ, सामान्य प्राविधिक आवश्यकता’ रहेको भन्दै बैंकको यस निर्णयको आलोचना गरेका छन् ।

ग्राहकको खाताको सुरक्षा मजबुत बनाउने प्रक्रियालाई बैंकले आम्दानीको स्रोत बनाइरहेकोमा सेवाग्राही आक्रोशित बनेका छन् ।

बैंकका डीसीईओ लोकराज पनेरुले मोबाइल बैंकिङ सेवा निःशुल्क गर्ने योजनामा रहेकाे बताए ।

उनले कर्मचारी संलग्नतासम्बन्धी शुल्क वा अन्य परिवर्तनहरू भए त्यसको पनि समीक्षा भइरहेको बताए । “कर्मचारी संलग्नताका कारण लाग्ने शुल्क वा परिवर्तनहरू, यदि कुनै छन् भने, हामी त्यसलाई पनि परिमार्जन गर्दैछौँ र निःशुल्क गर्ने योजनामा छौँ,” पनेरुले भने ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १३:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।