Logo

अर्थ

मोबाइल नम्बर परिवर्तन भए वित्तीय संस्थालाई तत्काल जानकारी गराउन राष्ट्र बैंकको आग्रह



काठमाडाैं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । वित्तीय चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगका लागि यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा मोबाइल वालेटजस्ता सेवाहरू ग्राहकले दर्ता गरेको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने भएकाले ती माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। यस्तो अवस्थामा मोबाइल नम्बर वा इमेल परिवर्तन भएर पनि सम्बन्धित संस्थालाई जानकारी नगराउँदा संवेदनशील वित्तीय जानकारीमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहने बताइएको छ।

त्यस्तै, मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिए वित्तीय ठगी तथा खातासम्बन्धी सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने राष्ट्र बैंकको चेतावनी छ। त्यसैले मोबाइल नम्बर परिवर्तन भएलगत्तै सम्बन्धित संस्थामा विवरण अद्यावधिक गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

राष्ट्र बैंकले मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड तथा सम्बन्धित संस्थाको आधिकारिक मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न समेत सुझाव दिएको छ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १२:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।