Logo

राजनीति

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा प्रधानमन्त्रीको राजीनामा माग



विराटनगर । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) १ नम्बर प्रदेशले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति विरोध जनाउँदै राजीनामाको माग गरेको छ।

सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १७ गते प्रतिनिधि सभाको रोस्ट्रमबाट प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको हो।

विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा भारतले मात्र होइन नेपालले पनि धेरै ठाउँमा सीमा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति तथ्यहीन र गैरजिम्मेवारपूर्ण रहेको दाबी गरिएको छ।

सङ्घले यसलाई कुटनीतिक मर्यादा र संविधान विपरीतको संज्ञा दिँदै राष्ट्रहितको विरुद्धमा रहेको ठहर गरेको छ।

‘नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता विपरीत दिइएको यस्तो राष्ट्रघाती अभिव्यक्तिको हामी घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सङ्घकी अध्यक्ष लक्ष्मी न्यौपाने लता र सचिव भूमिका कोइरालाद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नालापानीको युद्धमा महिलाहरूले देखाएको वीरताको स्मरण गर्दै राष्ट्रिय स्वाधीनताका लागि जुट्न आम जनसमुदायलाई अपिल समेत गरिएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार १९:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।