काठमाडौं । सरकारले स्थल नाकाबाट सिमाना ओहोरदोहोर गर्ने यात्रुका लागि भन्सार छुट सम्बन्धी व्यवस्थामा लचकता अपनाएको छ । राजपत्रमा प्रकाशित नयाँ व्यवस्थाअनुसार अब स्थलमार्गबाट नेपाल भित्र्याइने वा बाहिर लैजाने ५ सय रुपैयाँसम्म मूल्य बराबरका सामानमा भन्सार नलाग्न सक्ने व्यवस्था गरिएको छ ।
यसअघि १ सय रुपैयाँसम्म मूल्यका सामानमा मात्र यस्तो छुटको व्यवस्था रहेको थियो । नयाँ व्यवस्थासँगै सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोगका साना सामान ओसारपसारमा केही सहज हुने अपेक्षा गरिएको छ ।
राजपत्रमा उल्लेख भएअनुसार ५ सय रुपैयाँसम्म मूल्यका सामान ल्याएमा वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन् । तर, सो सीमाभन्दा बढी मूल्यका सामान वा व्यापारिक प्रयोजनका सामग्री भएमा प्रचलित कानुनअनुसार भन्सार तिर्नुपर्नेछ ।




















प्रतिक्रिया