काठमाडौं। इरान र अमेरिकाबीच जारी तनावबीच फेरि आक्रमण-प्रतिआक्रमण भएको छ। यसले हालै लागू गरिएको नाजुक युद्ध विरामलाई थप चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
बुधबार इरानी ड्रोन आक्रमणका कारण कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ। घटनमा ६३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कुवेतका रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजिज अल ओताइबीका अनुसार विमानस्थलको यात्रु टर्मिनललाई लक्षित गरी धेरै शत्रुतापूर्ण ड्रोनहरू प्रहार गरिएको थियो। घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो। पछि वैकल्पिक टर्मिनलबाट सीमित उडान सञ्चालन पुनः सुरु गरिएको छ।
यसैबीच, इरानले युद्धविराम विस्तारका लागि मध्यस्थकर्तासँगको संवाद स्थगित गरेको बताइएको छ। क्षेत्रीय एक अधिकारीका अनुसार लेबनानमा युद्धविराम प्रभावकारी रूपमा लागू नभएसम्म तेहरान वार्तामा फर्किन इच्छुक छैन।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता अझै जारी रहेको बताएका छन्। पछिल्ला केही सातादेखि इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व अन्त्य गर्न वार्ता चलिरहेको भए पनि विभिन्न क्षेत्रमा भइरहेका लगातार आक्रमणले शान्ति प्रयासलाई कमजोर बनाइरहेका छन्।




















प्रतिक्रिया