काठमाडौं। भारतले यसपटक पनि महिला साफ च्याम्पियनसिप उपाधि जितेको छ। बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप उपाधि जितेको हो।
महिला फुटबलमा दक्षिण एसियामा ‘पावर हाउस’का रूपमा देखिएको भारतको यो छैटौं उपाधि हो। शनिबार गोवामा आयोजित आठौँ संस्करणको फाइनलमा भारत पहिलो हाफमा केही अलमलिएको देखिएको थियो। अन्ततः आरामदायी ढंगले बंगलादेशलाई पन्छाउन सफल भयो।
भारतको जितमा सन्फिदा नोङरुम र लिन्दा कोम सेर्टोले दोस्रो हाफमा गोल गरे। पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो। भारतका निम्ति खेलको ४२औँ मिनेटमा छाछाले गोल गरेकी थिइन्। तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशकी रीतुपुर्ण चक्काले गोल फर्काइन्।
दोस्रो हाफमा भारत खेलमा हाबी देखियो। नोनग्रुम सन्फिदाले दोस्रो हाफ सुरु भएलगत्तै ४६औँ मिनेटमा गोल गर्दा भारतको आत्मविश्वास बढायो।
८२औँ मिनेटमा लिदा कोम सिद्धले थप एक गोल गरेपछि खेलमा भारत निकै अगाडि बढेको देखिएको थियो। बंगलादेशले भने त्यसपछि गोल फर्काउन सकेन।
सन् २०१९ पछि यसपालि भारतले साफ च्याम्पियनसिपको उपाधि चुमेको हो। त्यतिबेला विराटनगरमा आयोजित पाँचौँ संस्करणको फाइनलमा भारतले घरेलु टोलीलाई ३–१ ले हराएको थियो।




















प्रतिक्रिया