Logo

पर्यटन

तीन सातामा २ हजार ७ सय पर्यटक हुम्ला भित्रिए, हिल्साका होटल भरिभराउ



हुम्ला । हुम्लाको हिल्सा नाका हुँदै कैलाश–मानसरोवर दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्न थालेको छ।

विशेषगरी भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै सिमकोट विमानस्थल र हिल्सा क्षेत्र पुनः चहलपहल हुन थालेका छन्।

प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीका अनुसार हिल्सा नाका वैशाख पहिलो सातादेखि सञ्चालनमा आए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन थालेका हुन्।

वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठको पहिलो सातादेखि पर्यटकको चाप बढेको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख ३० गतेदेखि जेठ २३ गतेसम्म नेपालगन्ज हुँदै हुम्ला प्रवेश गरी कैलाश–मानसरोवर दर्शनका लागि गएका भारतीय तथा अन्य देशका पर्यटकको संख्या २ हजार ७४७ पुगेको छ।

तीमध्ये वैशाख महिनामा ११४ जना पर्यटक जिल्ला भित्रिएका थिए भने जेठ महिनामा मात्र २ हजार ६३२ जना विदेशी तीर्थयात्री हुम्ला पुगेका छन्।

हिल्सा नाका सञ्चालनमा आएपछि आगामी दिनमा पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

कैलाश–मानसरोवर पुग्न हुम्लाको मार्ग तुलनात्मक रूपमा छोटो पर्ने भएकाले भारतीय पर्यटकको आकर्षण बढ्दै गएको स्थानीय सरोकारवालाहरू बताउँछन्।

सिमकोट विमानस्थलमा कार्यरत दीपेन्द्र भण्डारीका अनुसार कोरोना महामारीपछि कैलाश–मानसरोवर दर्शनका लागि हुम्ला आउने पर्यटकको यो सबैभन्दा ठूलो संख्या हो।

मौसम अनुकूल हुँदा नेपालगन्ज–सिमकोट रुटमा दैनिक पाँचदेखि १० वटासम्म उडान भइरहेको उनले बताए।

हाल सीता एयर, समिट एयर र तारा एयरले नियमित उडान गरिरहेका छन् भने सिमकोटबाट हिल्सासम्म हेलिकोप्टर सेवामार्फत पर्यटक ओसारपसार भइरहेको छ।

पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको छ।

हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार होटल व्यवसाय, यातायात तथा अन्य सेवामूलक क्षेत्रमा रोजगारीका अवसर बढेका छन्।

सिमकोट र हिल्साका अधिकांश होटल पर्यटकले भरिएका छन्।

विदेशी पर्यटकबाट स्थानीय तहले राजस्वसमेत संकलन गर्दै आएका छन्। सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिँदै आएका छन्।

जेठ, असार र साउन महिनालाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ०७:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।