Logo

अर्थ

प्रभु बैंकद्वारा अन्नपूर्ण माविलाई स्मार्ट बोर्ड हस्तान्तरण



काठमाडौं । प्रभु बैंकले गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यका साथ विद्यालयलाई स्मार्ट बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

यसबाट विद्यालयमा डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने बैंकको अपेक्षा छ ।

हाल विश्वमा तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने बैंकको भनाइ छ ।

प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले बैंकको यस सामाजिक कार्यको प्रशंसा गर्दै विद्यार्थीको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ११:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।