Logo

प्रमुख समाचार

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक परिस्थितिका विषयमा गहन छलफल गर्न भोलि अर्थात् २०८३ जेठ २५ गते सर्वदलीय बैठक आह्वान गरेको छ।

रास्वपाका सभापति रवि लामिछानेको विशेष पहलमा देशको पछिल्लो राजनीतिक अवस्था र संसदमा दलहरूबीचको सहकार्यका विषयमा संवाद गर्न यो बैठक बोलाइएको हो।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठक भोलि बिहान ९:०० बजे सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।

यस महत्त्वपूर्ण बैठकमा संघीय संसदका दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिएको छ।

बैठकको प्रभावकारिता र निर्णय प्रक्रियालाई सहज बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित अनिवार्य रूपमा दुई जना शीर्ष नेताहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।

महामन्त्री बुर्लाकोटीले संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सबै राजनीतिक दलहरूमा बैठकको आधिकारिक सूचनासहितको निमन्त्रणा पत्र पठाइसकिएको जानकारी दिएका छन्।

पछिल्लो समय राजनीतिक समीकरणमा देखिएका उतारचढाव र जनसरोकारका मुद्दाहरूका बीच रास्वपाले चालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

दलहरूबीच साझा धारणा निर्माण गर्न र संसद्लाई थप प्रभावकारी बनाउन यो सर्वदलीय छलफलले ठोस मार्गचित्र तय गर्ने अपेक्षा राखिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार २१:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।